Khabarsabaiko मंगलबार, कार्तिक २५, २०७७
हुम्लामा यतिवेला माइनस १० डिग्रीको जाडो छ । त्यसमाथि खुला आकाशमुनिको चौर । चिसो हावा चलिरहन्छ । यस्तो मासममा हुम्लामा महिनावारी भएकी महिलाले ४ देखि ६ दिनसम्म खुला चौरमा जीवन गुजार्नुपर्ने हुन्छ ।
सुन्दा कथाजस्तो लागे पनि यो काल्पनिक घटना होइन । हुम्ली महिलाको यथार्थ पीडा हो । यहाँका महिलाको जब महिनावारीको समय आउँछ, उनीहरूमा एकखालको त्रास फैलिन थाल्छ । त्यही कहालीलाग्दो गोठ र ठाउँले उनीहरूलाई सताउँछ ।
सुत्केरी र महिनावारी हुनेवेलामा प्रशस्त पोषणयुक्त खाना, न्यानो घर र कपडा चाहिन्छ, तर यहाँका महिलाका लागि उक्त कुरा एकादेशको कथा बनेको छ । सर्केगाड गाउँपालिका–२ स्थित उनापानीकी ५२ वर्षीया अलैची फडेरा महिनावारी भएको समयमा घरबाहिरको खुला चौरमा रात कटाउँदै आएकी छिन ।
घरमा श्रीमान धामी भएका कारण ३ दिन खुला चौरमा बस्न बाध्य भएको अलैचीको भनाइ छ । अलैची फडेरासँगै गाउँकै ५ जना महिला महिनावारी भएकाले उनीसँगै खुला चौरमा बसेका थिए । महिनावारी र सुत्केरी हुँदा चिसोमा बस्नुपर्दा निमोनिया, टाइफाइटजस्ता बिरामी भएर ज्यान गुमाए पनि देवता रिसाउने डरले यहाँका महिला ज्यानकै माया मारेर यसरी बस्ने गरेको बताउँछन ।
गोठ, ओडार र चौरमा वास
खार्पुनाथ गाउँपालिकास्थित काराङ गाउँकी चन्द्रकला शाही महिनावारी हुँदा घरनजिकैको डरलाग्दो ओडारमा रात बिताउँछिन । खुला ओडारमा उनी एक्लै सुत्न डराएपछि सँगै सात वर्षकी छोरी काखमा सुताउने गरेको बताउँछिन । छाउपडी प्रथा उन्मूलन अभियानमा लाग्दा आफू र एकजना अर्की महिलाले माफी माग्नुपरेको उनी सम्झिन्छिन ।
चन्द्रकला शाही मात्रै नभएर खार्पुनाथ गाउँपालिकाको प्युस गाउँका महिला महिनावारी भएका वेला छाउगोठमा १५ देखि २० जनासम्म कोचिएर बस्दै आएका छन । ‘घरमा जाऊँ देवता रिसाउने डर, गोठमा बसौँ चिसोले मरिने पिर,’ महिनावारी हुँदा यस्तै पीडाले सताउँछ भन्छन यहाँका महिला ।
सर्केगाड गाउँपालिकास्थित उनापानी गाउँका महिला महिनावारी भएको समयमा घरभन्दा बाहिर खुला चौरमा बस्दै आएको स्थानीय रिउचा कार्कीले बताइन । घरभित्र बसेमा देवता लाग्ने डरले यहाँका अधिकांश महिला घरनजिकैको बारी, ओडार वा गोठमा बस्न बाध्य भएको कार्कीको भनाइ छ ।
सुरुमा ‘छाउ’ अर्थात महिनावारी हुँदा किशोरीले लाजले घरपरिवारलाई भन्न हिचकिचाउने गरेका छन् । सीधै गोठमा बस्न गए सबैले थाहा पाउलान भन्ने लाज, छुट्टै नबसौँ भने घरका देउता रिसाउने डर, पहिलोपटक महिनावारी हुनेलाई झन सकस हुने गरेको यहाँका महिलाहरू बताउँछन ।
स्वास्थ्यकर्मी नै चौरमा
घमहिनावारी भएको समयमा हुम्लाका अधिकांश स्वास्थ्यकर्मी नै छाउगोठ वा खुला चौरमा वास बस्ने गरेका छन । सर्केगाड गाउँपालिका–३ स्थित उनापानी गाउँकी रामगीता फडेरा महिनावारी भएका वेला घरबाहिरको खुला चौरमा चिसो सहेर बस्न बाध्य भएकी थिइन । ‘रजस्वला भएकी छु, यहाँको समुदायले घरभित्र राख्न मान्दैन, चौरमा नबसी कहाँ बस्नू ?,’ उनले दुखेसो पोखिन । रामगीताका ससुराबा गाउँकै शिक्षक हुन् । घरमा स्वास्थ्यसम्बन्धी पढेलेखेका सदस्य छन । तैपनि, उनी घरबाहिर चौरमा महिनावारी बार्न बाध्य छिन ।
ज्यानकै जोखिम
महिनावारी र सुत्केरी हुँदा ओडार वा छाउगोठमा बस्नुपर्ने यहाँका महिलाको बाध्यता उस्तै छ । यसरी बस्दा सर्प, बिच्छीलगायत विषालु किराले डस्ने डर उत्तिकै छ । महिनावारी र सुत्केरी भएका वेला पोसिलो खानेकुरा आवश्यक हुने भए पनि हिउँदको चिसोमा कठ्यांग्रिनुपर्दा यहाँका महिलाको स्वास्थ्य झन जोखिममा पर्ने गरेको छ । कुनै गाउँमा त महिनावारी भएकी महिलाले शौचालयमा शौच गर्नसमेत प्रतिबन्ध छ । जिल्लामा छाउपडीलगायतका कुसंस्कारविरुद्ध जनचेतना फैलाउने शिक्षक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीले समेत महिनावारी हुँदा महिलालाई अलग राख्दै आएका छन । कुस्कार र कुरुती विरुद्ध जनचेतना त्यहाँ जनप्रतिनीधि फैलाउनु पर्ने इन्जा एसियाका अध्यक्ष एवम ग्लोबल उपाध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तले बताए । समयमै यहाँ सरोकारवाला निकायले यस विषयमा ध्यान दिनुपर्ने आवश्यक रहेको वरिष्ठ पत्रकार पन्तले बताए ।