Khabarsabaiko शुक्रबार, पुष २४, २०७७
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडक, बजार तथा अन्य खुला क्षेत्रमा वेवारिसे अवस्थामा रहेका चौपायाहरुलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका केही व्यक्तिहरुले आयआर्जनका लागि प्रयोग गर्ने भएका छन् । यसबाट निम्नस्तर तथा दलित परिवारका मान्छेहरुलाई सहयोग पुग्ने भएको छ ।
पटक पटक सुर्खेत लगायतका नेपालका अन्य स्थानबाट कृषि प्रयोजनका लागि भन्दै यस्ता चौपायाहरुलाई हुम्लामा पुगाइएको विभिन्न तथ्य फेला परेको छ । यस अघि पनि यस्ता कामका लागि हुम्लाका विभिन्न गाउँपालिकाहरुका वडा अध्यक्षहरुबाट छाडा पशुवस्तु हुम्लामा ल्याउनका लागि सिफारिश गर्ने गरिएको छ । यस्तै खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भीमबहादुर शाहीले स्थानीय दलीतहरुका लागि सिफारिश गरिएको स्वीकार गरेका छन् ।
उनले भने यसबाट हुम्लाका दलीतहरुको आयस्तरमा वृद्धि हुने आषा गरिएको छ । उनीहरुले यस अघि पनि पटक पटक यस्तो काम गर्ने जानकारी दिएका छन् ।
उच्च अदालत वीरेन्द्रनगर सुर्खेतले पनि यस्ता छाडा पशु चौपाया व्यवस्थापनलाई छिटो तह लगाउनका लागि आदेश पनि दिइसकेको छ । यसै आदेशलाई कार्यान्वयन गर्नका लागि वीरेन्द्रनगर पालिका सुर्खेतले पहिलो चरणमा हुम्लामा पठाउनका लागि एक सय छाडा पशु चौपाया विशेषतः गाईहरु हुम्ला पठाउन अनुमति दिएको छ ।
खार्पुनाथ गापा वडा नं ५ का मोतीराम्या कामीले उक्त गाई हुम्ला ल्याउनका लागि सबै प्रक्रिया पुरा गरेर हिंडाएका छन् । उनले नगपालिकालाई आफुले तीन महिनमा हुम्ला खार्पुनाथमा रहेको कृषि फार्ममा एक सय गाई पुगाउने बाचा कबुल गरेको वीरेन्द्रनगर पालिकाका वातावरण तथा अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले जानकारी दिए ।