१२ पुष २०८१, शुक्रबार

एमसिसी  पारित हुन्छ, प्रधानमन्त्री शेरबहादुर देउवा

खबर सबैको शुक्रबार, कार्तिक ०५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम पुगेका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताए।

एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि उनको भनाइ थियो। नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने उनले बताए।

‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यो ठूलो अनुदान हो, ऋण होइन।’ उनले एमसिसीबारे झुठा प्रचार भइरहेको पनि बताए।

‘यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ उनले भने। प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबानपीडितलाई तत्काल उद्धार गरिने र राहत दिइने बताए। तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने प्रधानमन्त्री देउवाको भनाइ थियो।

यहाँ कमेन्ट गर्नुहोस्