१५ पुष २०८१, सोमबार

नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर गुरूङ

खबरसबैको बुधबार, पुष २८, २०७८

नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन्।  मंगलबार भएको निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित भएका छन् भने अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल ञबैरागीझ ले ४०७ मत पाएका थिए।

अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष थिए। जिल्ला अध्यक्ष कृष्ण थापा गएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि गुरुङ कार्यबाहक जिल्ला अध्यक्ष बनेका थिए। उनी गण्डकी प्रदेश सांसदसमेत हुन्। अध्यक्षमा पराजित बैरागी यसअघि जिल्ला कमिटी सचिव थिए।

सर्वसम्मत नेतृत्व चुन्न ४ दिनसम्म प्रयास गर्दा बिफल भएपछि निर्वाचन भएको थियो। निर्वाचनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको समूह प्यानलसहित चुनाव लडेका थिए। अध्यक्षमा निर्वाचित गुरूङ पृथ्वीसुब्बा समूहका हुन् भने पराजित बैरागी खगराज समूहका उम्मेदवार हुन्।

बुधबार बिहान सार्वजनिक नतिजा अनुसार उपाध्यक्षमा गुरूङ प्यानलका तेजनारायण अधिकारी, सचिवमा बैरागी प्यानलका बैनबहादुर अधिकारी र उपसचिवमा दर्शन लामा र नवराज ओझा निर्वाचित भए। उपसचिवद्वय पनि खगराज प्यानलका हुन्।

एमाले विधानले पार्टी नेतृत्व चुन्दा प्यानल बनाएर चुनाव लड्न निषेध गरेको छ। कास्कीमा विधान विपरित पदाधिकारी र सबै क्लस्टरका सदस्यसम्म प्यानल बनेको थियो।

उम्मेदवारले आफ्नो प्यानलमा मतदान गर्न अधिवेशन प्रतिनिधिलाई सूची वितरण गरेको थियो। एमाले कास्की अधिवेशनमा ९१९ प्रतिनिधि छानिएका थिए। जसमा ८९५ जनाले मतदान गरेका थिए। यो समाचार सेतोपाटीमा छ ।

यहाँ कमेन्ट गर्नुहोस्