१८ पुष २०८१, बिहिबार

एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहरा प्रहार

खबर सबैको समाचारदाता, काठमाडाैं बुधबार, फाल्गुण ०४, २०७८

काठमाडौंको बानेश्वरमा प्रदर्शनकारीमाथि पानीको फोहरा हानिएको छ। बुधबार अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।

उनीहरूले विभिन्न नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।

तीमध्ये बानेश्वरमा पनि प्रदर्शन भइरहेको छ। त्यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार प्रहरीले दुई राउन्ड पानीको फोहरा प्रहार गरेको थियो।

अहिले भने नहानिएको उनले बताए। ‘अघि दुई राउन्ड हानएको हो। अहिले सबै सामान्य छ,’ उनले भने। प्रदर्शन क्रममा ४० जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।

त्यसमध्ये चार जना महिला छन्। ‘उहाँहरूले ब्यारिकेड तोडेर अघि बढ्न खोजेका थिए। ढुंगामुढा पनि भएपछि नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘पानीको फोहरा हानेपछि भीड तितरबितर भएको छ।’

पक्राउ पर्नेमा धेरैजसो वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका धेरै छन्। यसैक्रममा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा प्रदर्शन गर्न निस्किएका छन्। बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसिसीविरूद्ध प्रदर्शन गरिएका छन्। बानेश्वरमा भइरहेको प्रदर्शनमा श्रेष्ठ सहभागी भएका हुन्।

यस्तै केही पार्टीले एमसिसीकै विरोधमा आज नेपाल बन्दको घोषणा गरेको थियो। बिहानदेखि बन्द गराउँदै हिँड्ने ५२ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौंबाट ३७ जना, ललितपुरबाट १२ र भक्तपुरबाट ३ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबैलाई नगर प्रहरी भृकुटीमण्डपमा राखिएको छ।

##सेतोपाटी अनलाइन बाट साभार

यहाँ कमेन्ट गर्नुहोस्