१० पुष २०८१, बुधबार

अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव उत्पन्न (भिडियो सहित)

खबर सबैको समाचारदाता सोमबार, भाद्र १३, २०७९

अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव उत्पन्न भएको छ । कोहलपुरको न्यूरोडमा अतिक्रमण गरि बनाइएका संरचना तथा टहरा हटाउन नगर प्रमुख पूर्णप्रसाद आचार्य सहितको नेतृत्वमा टोली बिहानै देखि खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको ३र४ वटा अतिक्रमित टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा प्रहार गरेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।

विकल्प नदिएर अचानक डोजर लगाएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएको र स्थिती तनावपुर्ण बनेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एनबहादुर मल्लले बताउनुभयो । स्थिती तनावपुर्ण नै छ, अहिले डोजर चलाइएको छैन, उहाँले भन्नुभयो ।
नगर प्रमुख आचार्यले अतिक्रमित संरचना हटाउने क्रममा स्थानीयले अवरोध गरेको बताउनुभयो । ‘हामीले संरचना तथा टहरा हटाउँदै थियौँ, एक्कासी आएर अवरोध पुर्याउन खोजे, अहिले हटाउने काम रोकिएको छ’,उहाँले भन्नुभयो । कोहलपुरका सचेत नागरिकहरुलाई उहाँले सामाजिक संजालमार्फत पनि अपिल गर्नुभएको छ । कोहलपुर बसपार्कमा उपस्थित भएर अभियानमा साथ दिन उहाँले सबैलाई अनुरोध गर्नुभएको छ । ‘बेथिति र माफिया तन्त्रको अन्त गर्ने अभियान सुरु हुदैछ’, आचार्यले भन्नुभएको छ ।

तनाव पछि सर्वपक्षिय बैंठक बसेर विना निश्कर्ष सकिएको छ,  बैठक पुनः तिज पछि बस्ने गरेर स्थगित भएको छ । न्यूरोडमा रहेको कोहलपुर खाजा घर, मिठाइ पसल गरी दुई वटा अतिक्रमण गरिएका टहराहरु भत्काएपछि बसपार्क पुगेका डोजरमाथि ढुङ्गा प्रहार गरी स्थानीयहरुले लखटेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्