खबरसबैको समाचारदाता, काठमाडाैं मंगलबार, साउन २९, २०८१
औपचारिक शिक्षाको प्राप्ति र प्रतिपादनको मुख्य थलो विश्वविद्यालय मानिन्छ । शिक्षा विश्वविद्यालय गएर पाठ्यकममा आधारित पाठ्यपुस्तकहरुको नियमित अध्ययनले मात्र प्राप्त हुन्छ भन्ने मात्र नभई अनुभवको परिणाम पनि हो, भन्ने मान्यता स्थापित छ । जीवनका भोगाई एवं अनुभवहरुको सारहरु एउटा निश्चित प्रक्रियाका माध्यमबाट अरुका लागी शिक्षा बन्न जान्छ । शिक्षाले मुलत ज्ञान, सिप र दक्षता तिन पक्षहरु समेटेको हुन्छ ।
शिक्षाका विभिन्न विधा एवं उपविधाहरु छन् । शिक्षा अर्थात ज्ञानलाई मुलत दुई भागमा विभाजन गर्न सकिन्छ, ति हुन प्राकृतिक विज्ञानमा आधारित ज्ञान र सामाजिक विज्ञानमा आधारित ज्ञान । प्राकृतिक विज्ञानमा आधारित ज्ञान अन्तर्गत प्रकृतिमा हुने विभिन्न वैज्ञानिक प्रक्रियाहरुमा जोडिएको ज्ञान, जसले सत्य एउटै हुने मान्यता राख्छ । ती ज्ञानका विधाहरु अन्तर्गत गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जिव विज्ञान लगाएतका अन्य वैज्ञानिक विधि प्रक्रियाका माध्यमबाट उत्पन्न भएका ज्ञानहरु पर्दछन । यी ज्ञानहरु प्राय वैज्ञानिक, सर्वमान्य, निरपेक्ष र वस्तुगत हुन्छन ।
त्यस्तै गरी, दोस्रो सामाजिक विज्ञानमा आधारित ज्ञान जसमा सत्य एउटै यही हो भन्न मुस्किल पर्छ । समय, परिस्थति, विविध मुल्य मान्यताहरुका आधारमा एउटै कुरालाई पृथक तरिकाले बुझ्ने र व्याख्या गर्ने गरिन्छ । यो ज्ञान गतिशिल, मान्यतामा आधारित, विषयगत एवं सापेक्षिक छ । यसमा पर्ने विधाहरुमा अर्थशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र, लगाएतका सामाजिक मुल्य र मान्यतामा आधारित विधाहरु पर्दछन् ।
सामाजिक विज्ञानको एक मुख्य विधा अर्थशास्त्र हो । अर्थशास्त्र सामाजिक विज्ञान भए तापनी यसका केही मान्यता र सिद्धान्तहरु प्राकृतिक विज्ञान (गणित) मा आधारित छन् । यसको अध्ययनका लागी गणितिय ज्ञान पनि त्यतिकै आवश्यक मानिन्छ । जस्तो आर्थिक वृद्धि दर निर्धारण गर्ने सवालमा विभिन्न अर्थ विद्हरुका विभिन्न तरिकाहरु छन् जुन पुर्णरुपमा गणितिय शुत्रहरुमा आधारित छन् । यसर्थ अर्थशास्त्रको अध्ययनका लागी गणितिय ज्ञान आवश्यक छ भन्ने हो । अर्थशास्त्र विभिन्न विकल्पहरू कसरी मूल्याङ्कन गर्ने र राम्रो कसरी छनौट गर्ने भन्ने अध्ययन हो । यसले निर्णयहरू लिनको लागि भर पर्न बलियो पृष्ठभूमि अर्थात आधार प्रदान गर्दछ । विभिन्न अनुसन्धान, अध्ययन एवं व्यवहारिक अनुभवरआवश्यकताका दृष्टिकोणले अर्थशास्त्रलाई भौतिक विज्ञान भन्दा पछिको दोस्रो प्रयोगिक विधाका रुपमा अर्थशास्त्रलाई मानिन्छ । अर्थतन्त्रको शैदान्तिक एवं व्यवहारिक पाटाहरुको शल्यक्रियाका माध्यमबाट राज्यका आर्थिक क्रियाकलापहरुलाई चलायमा राख्नका लागी अर्थशास्त्रीय ज्ञान, सिप र दक्षता आवश्यक पर्छ । समाजका मुलत पक्षहरु संस्कृति, राजनीति र अर्थतन्त्र हुन् । अर्थतन्त्र समाज र राज्यको मुख्य मेरुदण्ड हो ।
राज्यले संविधान र कानुनबाट ग्यारेण्टी गरेका नागरिकका हकअधिकारहरुको प्रत्याभुत तथा जनताका मागहरुको सम्बोधन गर्नु उसको दायित्व हो । उक्त दायित्व पुरा गर्न राज्यमा उपलब्ध साधन स्रोतको उच्चतम रुपमा कुशलतापुर्वक परिचालन गर्न आवश्यक हुन्छ । पुँजी र स्रोत साधनको उपयुक्त ढंगले उपयोग गर्न सक्ष्म, क्षमतावान, दक्ष एवं सिपयुक्त जनशक्तिको आवश्यकता परिपुर्ति विश्वविद्यालयले गर्न सक्नुपर्छ । त्यसका लागी उच्च शिक्षामा अर्थशास्त्रको अध्ययन अध्यापन कार्य व्यवस्थित गर्न दक्ष र क्षमतावान प्राध्यापक, राम्रो अध्ययन वातावरण र अध्ययन पश्चातको पेशागत जीवनको सुनिश्चिताले अर्थशास्त्रको अध्ययन गर्न नवआगन्तुक विद्यार्थीहरुलाई आकर्षण गर्ने हो ।
उच्च शिक्षा अर्थात विश्वविद्यालयमा अर्थशास्त्र विधाको अध्ययन किन ?
यस सम्बन्धमा कुरा गरौं । अर्थशास्त्रको औचित्यता र प्रयोगिकताको विषय बृहत छ । किन अध्ययन गर्ने भन्ने सम्बन्धमा केही यस्ता सत्य तथ्यहरु छन जसलाई कसैले पनि अस्वीकार गर्न सक्ने अवस्था रहदैन ।
अर्थशास्त्रले व्यक्ति, फर्म र राज्यहरूले स्रोत व्यवस्थापन र कुशलतम उपयोग किन, कसरी र कुन उद्देश्यका साथ गर्ने भन्ने सम्बन्धमा अर्थतन्त्रका सबै सरोकारवालालाई गहन रुपमा ज्ञान, दक्षता र सिप प्रदान गर्दछ । मुलभुत रुपमा अर्थशास्त्रलाई सूक्ष्म अर्थशास्त्र र बृहत अर्थशास्त्रमा विभाजन गर्न सकिन्छ, जहाँ सुक्ष्म अर्थशास्त्रले व्यक्तिगत स्तरमा आर्थिक क्रियाकलापहरुको व्यवस्थापन गर्न दिशा निर्देश गर्दछ भने बृहत अर्थशास्त्र समग्र अर्थतन्त्रसँग सम्बन्ध राख्छ । दुबै प्रकारको अर्थशास्त्रले तत्कालिन आर्थिक गतिविधिहरुको लेखाजोखा एवं विश्लेष्ण गरी भविष्यको अनुमान गर्न आवश्यक दक्षता अभिवृद्धि गराउँछ । जसबाट व्यक्ति, फर्म वा राज्यले मौजुदा उत्पादनका साधन एवं आर्थिक व्यवहारहरुलाई व्यवस्थित गरी जोखिमबाट सुरक्षित हुनका साथ आर्थिक समृद्धि हाँसिल गर्न सक्ष्म हुन्छ ।
अर्थशास्त्रको अध्ययनले हाम्रो दैनिक जीवनलाई असर गर्ने कर, मुद्रास्फीति, ब्याज दर, बजार प्रणाली, लागत, माग पुर्ति, मुल्य निर्धारण जस्ता विषयहरुमा अन्र्तदृष्टि प्रदान गर्दछ । जुन अन्र्तदृष्टिले उपयुक्त समयमा उपयुक्त निर्णय गर्न सक्षम बनाउँछ । पेशागत जीवनको दृष्टिकोणमा अर्थशास्त्रको अध्ययन पश्चात उपाधीधारीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा आकर्षक, सम्मानीत एवं मर्यादित रोजगारी प्राप्त गर्न सक्ने अवस्था हुन्छ । नेपालको सन्दर्भमा नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक लि., नेपाल बैंक लि, कृषि विकास बैंक लि. लगाएतका सरकारी बैंक तथा वित्तिय संस्थाहरुका साथै अन्य प्राइभेट बैंक तथा वित्तिय संस्थाहरुमा बर्षेनी संयौको संख्यामा अधिकृत स्तरका कर्मचारीको भर्ना गर्ने गरिन्छ । त्यसका लागी अर्थशास्त्रको ज्ञान भएका, अध्ययन गरेका तथा रुची भएका मेधावीहरुका लागी सुर्वण अवसर छ ।
त्यस्तै गरी विद्यालय तथा क्याम्पस स्तरमा अध्यापन गर्न सक्ने, राज्यका विभिन्न निकायहरुमा अर्थशास्त्रीका रुपमा रही आर्थिक परामर्श प्रदान गर्ने जस्ता उच्च कोटीका कार्यहरु समाल्न पाउने अवसर अर्थशास्त्र अध्ययन गरेकाहरुले पाउने अवसर रहन्छ । साथै अर्थशास्त्रको राम्रो अध्ययनबाट स्टक ब्रोकर, अर्थशास्त्री, परामर्शदाता, डाटा विश्लेषक, तथ्याङ्कविद्, बजार अनुसन्धान विश्लेषक, क्रेडिट विश्लेषक, व्यापार विकास, आदि को रूपमा रही विषेशज्ञ सेवा प्रदान गर्न सकिन्छ । विश्वविद्यालयमा अर्थशास्त्रको अध्ययनले विश्व अर्थ व्यवस्थाका विविध आयामहरुलाई सुक्ष्म ढंगले विष्लेष्ण गरी समग्र विश्वका राजनीतिक, सामाजिक, साँस्कृतिक ढाँचाहरुको बुझन र व्याख्या गर्न मद्दत गर्छ । अर्थशास्त्रको अध्ययनले मानिसहरूलाई सधैं परिवर्तनशील संसार सँगै समायोजित हुन सिकाउँछ । यसले अवसर र चुनौतीहरु पहिचान गर्न तथा बजार प्रणाली र सार्वजानिक नीतिहरूबाट हुने खतराहरू पुर्वानुमान गर्न आधार तयार गर्छ ।
अत, औचित्यता र प्रयोगिकताले उच्च शिक्षामा अर्थशास्त्रको अध्ययनको आवश्यकतालाई उजागर गरेको गर्दछ । अर्थशास्त्र अन्य विधाहरुसँग पनि त्यतिकै अन्तर सम्बन्धीत छ । वाणिज्यशास्त्रको अध्ययन गर्दा अर्थशास्त्रीय ज्ञानको अभावमा पुरा हुन सक्दैन् । त्यस्तै अर्थशास्त्रले गणित, तथ्याङशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र, मनोविज्ञान जस्ता अन्य सामाजिक विज्ञानका विधाहरुसँग पनि र्तार्किक सम्बन्ध कायम राखेको हुन्छ । समाजमा कुनै पनि गतिविधिहरु पुँजी र श्रमको परिचालन हुन सक्दैनन । पुँजी र श्रमको संयोजनमा समाज र राष्ट्रमा आर्थिक उन्नयन ल्याउन र आर्थिक उन्नयनका माध्यमबाट आम जनतामा खुशीपना ल्याउनका लागी वृहत आर्थिक योजना विना सम्भव हुने कुरा भएन । बृहत आर्थिक योजनाकारहरुमा अर्थशास्त्रीय ज्ञान, सिप र दक्षता उच्च शिक्षामा अर्थशास्त्रको व्यवस्थित अध्ययन अध्यापनले प्रदान गर्ने । अन्त्यमा, देशमा आर्थिक क्रान्तीका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण गर्ने हो, भने त्यसका लागी योजनाबद्ध ढंगले आवश्यक जनशक्ति तयार गर्ने तर्फ राज्यले पहलकदमी लिन ढिलो गर्न हुदैन ।
राज्यले आवश्यक जनशक्तिको खाका तयारी गरी विश्वविद्यालयलाई सोही बमोजिम जनशक्ति उत्पादन गर्न लगाउनु नै सरकारको वर्तमान कार्यभार हो ।