०७ पुष २०८१, आइतबार

‘माघी पर्वमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा’

Khabarsabaiko बुधबार, पुष २५, २०७५

खबरसबैको संवाददाता
सुर्खेत २५, पौष

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माघी पर्वमा कर्णालीमा सार्वजनिक विदा दिने घोषणा गरेका छन्। नेपाल मगर संघ सुर्खेतले आयोजना गरेको ‘माघे सकराती मेला २०७५’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले माघी पर्वमा सार्वजनिक विदा दिने बताएका हुन्। मुख्यमन्त्री शाहीले कुनै पनि चाडपर्वका बिदालाई सार्वजनिक श्रमको रुपमा उपयोग गर्नुपर्ने बताए। उनले मुक्तिका लागि लामो समय राजनीतिक संघर्ष गरेको बताउँदै शासन व्यवस्था परिवर्तन भए पनि अब शोषण अन्त्यका लागि लागेको बताए। समाजमा महिला हिंसाको अवस्था अझै व्यप्त रहेको उनको भनाइ छ।

पूर्वश्रम मन्त्री माथवर सिंह थापा मगरले कम्युनिस्ट सरकारले उत्पीडित वर्ग र जातिलाई लत्याएको आरोप लगाए। उनले जनजातिका लागि सरकारले ४५ प्रतिशत आरक्षण भन्ने गरेको तर कार्यान्वयनमा भने १३ प्रतिसत मात्रै भएको बताए। जनजातिहरूको मौलिक चाडपर्वको बिदा कटौती गरेर सरकारले सामाजिक विभेद गरेको भन्दै थापाले जनजातिहरूलाई आरक्षणको नाममा झन विभेद गरेको समेत आरोप लगाए। नेपाल मगर संघका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाति महासंघका प्रवक्तासमेत रहेका नवीन रोकामगरले कुनै पनि समुदायलाई पन्छाएर समृद्धिको विकास नहुने धारण राखे। बुधबारदेखि शुरु भएको सुर्खेत माघी मेला पौष २९ गतेसम्म सञ्चालन हुनेछ।

यहाँ कमेन्ट गर्नुहोस्