०२ माघ २०८१, बुधबार

जिल्ला बाहिर अलपत्र परेका हुम्लीहरुलाई हवाई मार्गबाट उद्धार

Khabarsabaiko शनिबार, बैशाख २०, २०७७

जिल्ला बाहिर अलपत्र परेका हुम्लीहरुलाई वैशाख २० गतेदेखि हवाई मार्गबाट उद्धार सुरु गरिएको छ । जिल्ला बाहिर अध्ययन तथा कामले रोकिएका र लकडाउनमा फसेका माथिल्लो हुम्लाका नागरिकहरुको हवाई मार्गबाट उद्धार सुरु भएको हो ।
हुम्लाबासीको मागलाई मध्यनजर राख्दै पर्यटन मन्त्रालयले नेपालगञ्ज र सुर्खेतमा लकडाउनमा फसेका हुम्लाबासीलाई हवाई सेवाबाट उद्धार गर्ने निर्णय गरे अनुसार सो काम शनिबारदेखि सुरु भएको छ ।
उद्धार गरिएका नागरिकलाई आज हुम्लाको विमान स्थलको हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीले थर्मोलगनद्धारा चेक जाँच गर्दै आ आफ्ना गाउँपालिकामा पठाइएको सिमकोट गाउँपालिका स्वास्थय शाखाका स्वास्थय संयोजक दानबहादुर वोहराले बताए । हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिका घर भई नेपालगञ्ज र सुर्खेत फसेका नागरिकको उद्धार कार्य सुरु भएको हो ।
शनिबार पहिलो फ्लाईटमा नाम्खाका नागरिक ओसार्न सुरु भएको छ भने त्यसपछि अन्य दुई गाउँपालिकाका नागरिकहरुलाई पनि उद्धार गरिएको सीता एयरका सिमकोट इस्टेशन सहायक इन्चार्ज सुर्य लामाले बताए ।
आज उडान भएका जहाज मध्ये सीतामा सुर्खेतबाट ४८ जना, नेपालगञ्जबाट २७ जना ओसारेको छ भने, समिट एयरले नेपालगञ्जबाट १८ जना, त्यस्तै तारा एयरले नेपालगञ्जबाट ३४ जना गरेर जम्मा १ सय २७ जनालाई हुम्ला पुर्याएको र बाँकी व्यक्तिहरुलाई नियमित ओसार्ने भएको सीता एयरका मनेजम्यन्ट डाइरेक्टर मनोज भारतीले बताए ।
नेपालगञ्जमा रहेका ४ सय ९५ र सुर्खेतमा रहेका ४ सय गरि ८ सय ९५ नागरिकलाई हुम्ला ल्याइने भएको छ । सीता एयरका तीन वटा, तारा र समिट एयरका एक एक वटा जहाजले यात्रु ओसार्ने काम गरिरहेका छन् ।
लकडाउनको समयमा पनि विश्व नै माहामारिको चपेटामा परि रहेको वेला सीता एयर लगायतका क्याप्टेनहरुले आफ्नो ज्यान जोखिममा पारेर भए पनि हुम्लीहरुको उद्धारका लागि हवाई उडान गरि रहेका छन् ।
नेपालगञ्ज र सुर्खेतबाट यात्रुहरु हुम्ला पुगेपछि आ–आफ्ना गाउँपालिकामा गएर अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ ।
उद्धार गरिएका नागरिकहरुको व्यवस्थापनका बारेमा विभिन्न गाउँपालिकाका अध्यक्षहरुसंग बुझ्दा यतिखेर प्रत्यक वडाहरुमा क्वारेन्टाइन स्थापना गरिएको र उनिहरुलाई सवै वडाका अध्यक्षहरुको जिम्मा लगाएर सो क्वारेनटाइनमा बस्ने प्रवधानका साथ पठाउने निर्णय भएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।
त्यस्तै गाउँपालिका स्तरिय विपत व्यवस्थापनले सम्पुर्ण सामग्रीको जोहो गरि सकेको र उनिहरुलाई व्यवस्थित तरिकाले १४ दिनसम्म क्वारेनटाइनमा राख्ने खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
जिल्ला बाहिर फसेका नागरिकहरुलाई हवाई मार्गबाट उद्धारका लागि एक महिना अगाडिदेखि माग हुँदै आएको थियो । सडक सञ्जालले नजोडिएको हुम्ला जिल्लाका जनप्रतिनिधिहरुको आग्रहलाई पर्यटन मन्त्रालयले स्वीकार गर्दै जहाजबाट यात्रु उद्धार गर्ने निर्णय गरेको हो ।
तर जिल्लाको सरकारी निकाय भने हुम्लाका तीन वटा गाउँपालिका बाहेक अन्यसंग समन्वय नै नभएको भनेर बताउने गरेको छ । यसमा सरकारी निकायको भने त्यती भूमिका नभएको देखिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्