Khabarsabaiko शुक्रबार, आषाढ २६, २०७७
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका लिमिका ३ गाउँमा बाढीपहिरोले बाटो अवरुद्ध भएको छ । एक सातादेखि परेको अविरल वर्षाका कारण लिमीका तिल,जाङ, हल्जी गाउँ आवतजावत गर्न बाटो अवरुद्ध भएको हो ।
न्यालुदेखि टुम्लिङसम्म आवतजावत गर्ने बाटो बाढीपहिरोले अवरुद्ध बनाएपछि समस्या भएको नाम्खा गाउँपालिका–६ हल्जीका स्थानीय कन्जोक फुरुबु तामाङले जानकारी दिए ।
खोलाको बहाव बढेपछि आफूहरूलाई गाउँपालिका कार्यालय र सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको तामाङले बताए ।
बाढी र पहिरोले बाटो बन्द गरेपछि आफूहरू हिल्सा हुँदै आउन बाध्य भएको नाम्खा ६ तिल गाउँका अर्का स्थानीय ठिले लामाले गुनासो गरे ।
न्यालु हुँदै आवतजावत गर्ने बाटो बाढीपहिरोले बन्द गरेपछि पालिकाको गाउँसभाका लागि याल्वाङ कार्यालयसम्म पुग्न समस्या भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
बाढीपहिरोले खोला तर्न समस्या भएपछि हिल्सा हुँदै नारा लेख काटेर गाउँपालिका कार्यालय पुगेको वडाध्यक्ष तामाङको भनाइ छ ।