Khabarsabaiko शनिबार, साउन ०३, २०७७
ताजाँकोट गाउँपालिका– ४ का २३ परिवार दलित बाढीपहिरोको उच्च जोखिममा परेका छन् । १ असार राति परेको वर्षाले ताजाँकोट गाउँपालिका–४ उतिसेनी गाउँमा रहेको बस्तीनजिकै पहिरो गएपछि उनीहरू जोखिममा परेका हुन् ।
पहिरोले बस्ती नै जोखिममा परेपछि सहयोग माग्न उनीहरू गाउँपालिका केन्द्र छेप्रेला पुगेका छन् । उतिसेनी गाउँकी औकला सार्कीले बस्ती जोगाउन माग गर्दै गाउँपालिका कार्यालय पुगेको बताइन् । उनले भनिन्, ‘राति आएको बाढीपहिरोले हाम्रा जग्गा, जमिन, घर नै जोखिम छन् । सरकारले यस विषयमा ध्यान दिएको छैन ।’ गाउँवरिपरि बाढीपहिरोले कटान गरेर घर भत्किन अवस्था भएपछि गाउँपालिका अध्यक्षलाई हारगुहार गर्न गाउँपालिका पुगेको स्थानीय धनमति सार्कीले बताइन् ।
गाउँपालिका अध्यक्ष बाग्दल मल्लका अनुसार उतिसेनी गाउँ बाढी पहिरोको उच्च जोखिम भएकोले गत वर्ष बाढी पहिरो नियन्त्रण र प्रभावितलाई व्यवस्थापन गर्न १५ लाख छुट्याएको बताए । तर १५ लाख बजेट अपुग भए पनि बस्ती व्यवस्थापन गर्न नसकिएको अध्यक्ष मल्लले बताए । हाल उनीहरूलाई त्रिपाल दिएर अस्थायी रूपमा कम जोखिम रहेको स्थानमा बस्न आग्रह गरिएको छ ।