खबरसबैकाे आइतबार, कार्तिक २१, २०७८
सुर्खेत -कर्णाली प्रदेशको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री भए पनि मन्त्रिमण्डल विस्तारमा असक्षम भएका छन् ।
उनी मुख्यमन्त्री भएको चार दिन भयो । तर, मन्त्रिमण्डल विस्तार गर्ने नसक्दा आलोचित हुन थालेका छन् ।
संघीय सरकारको नेतृत्व गरेका सभापति शेरबहादुर देउवाले ८८ दिनमा मात्रै मन्त्रिमण्डल विस्तार गर्न सकेका थिए । कर्णालीका मुख्यमन्त्री शाहीले पनि कतै देउवाकै बाटो त समातेका होइनन् ? प्रश्न उब्जिन थालेको छ ।
शाही माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाहीसँग गत बैशाखमा भएको सहमतिअनुसार यही १५ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।माओवादी केन्द्रका एक सांसदका अनुसार मुख्यमन्त्री शाही जहिले पनि बखेडा मात्रै झिक्छन् । त्यो पनि मन्त्रिमण्डल विस्तार हुन नसक्नुको कारण मान्छन् ।
‘उहाँ जहिले पनि बखेडा मात्र झिक्नुहुन्छ । पहिला सम्झौताविपरीत दुई मन्त्रालयको माग गर्नुभयो र मन्त्रालय फुटाउनुपर्ने अवस्था आयो । अहिले पनि उहाँले मुख्यमन्त्रीसहित २ मन्त्रालयको माग गर्नुभएको छ । त्यही आधारमा सरकार विस्तार हुन सकेको छैन’, सुसँग ती माओवादी सांसदले भने, ‘उहाँलाई सम्झौताअनुसार नै मुख्यमन्त्री बनाएको हो । उहाँले अरुलाई सम्झौताको बढी कुरा हुन्छ । आफू कहिल्यै पालना गर्नुहुन्न ।’
शाहीलाई मुख्यमन्त्रीमा माओवादीका १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) तीन गरी २१ सांसदले समर्थन गरेका थिए ।
उनले हाल मुख्यमन्त्री भएर अन्य दुई मन्त्रालय पनि सम्हालेका छन् ।