खबरसबैकाे आइतबार, कार्तिक २१, २०७८
काठमााडाै– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’को संज्ञा दिएका छन् । ओलीले सत्तारुढ गठबन्धनलाई लोकतन्त्र, लोकतान्त्रिक मूल्य, मान्यता नभई आफ्नो स्वार्थ पूर्तिका लागि केवल सत्ता मात्रै चाहिएको दाबी गरे ।
एमाले कर्णाली प्रदेश कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनलाई देश नभई आफ्नो स्वार्थ मात्रै पूरा गर्नु रहेको बताएका हुन् । ओलीले एमाले नभएको भए १७ साल आइसकेको हुने दाबीसमेत गरे ।
एमाले नभएकै कारण २००७ सालपछि १७ साल आएको तर अहिले एमाले भएकाले आउन नसकेको उनको दाबी छ । ओलीले एमाले भएकै कारण प्रतिक्रियावादी शक्तिहरू चुप लागेर बसेको पनि बताए । उनले एमालेले संविधान च्यात्न नदिने, लोकतन्त्रलाई तलमाथि हुन नदिने पनि बताए ।
ओलीले भने, ‘एमाले हुँदैनथ्यो भने १७ साल अस्ति नै आइसक्थ्यो । तर यहाँ एमाले छ । त्यसकारण १७ साल आउन सक्दैन । २००७ सालपछि १७ साल आइहाल्यो नि । आउँथ्यो यहाँ पनि । संविधान भनेको एउटा पुस्तक हो । बलजफ्ती ग¥यो भने च्यात्न कतिबेर लाग्दैन । तर जनता सचेत छन, सचेत जनताको मनोबल च्याप्न सकिँदैन । सचेत जनताको अठोट च्यात्न सकिँदैन । त्यसैकारण प्रतिक्रियावादी शक्तिहरू चुप लागेर बसेका छन । त्यस्ता परमादेशहरू, प्रतिगामी परमादेशहरू अनेक आउन सक्छन् । तर, हामी सरकार छोड्न तयार छौँ, तर देशलाई तलमाथि हुन दिँदैनौँ । हामी सरकार छोड्न तयार छैनाैं, संविधान च्यात्न दिँदैनौँ । हामी लोकतन्त्र तलमाथि हुन दिँदैनौँ । लोकतन्त्र छोड्न हामी तयार छैनौँ । हामीले सातदशकभन्दा बढी संघर्ष गरेर ल्याएको लोकतन्त्र हो, बलिदान दिएर ल्याएको लोकतन्त्र हो । त्यसकारण हामी छोड्न सक्दैनौँ । यो अठोटमा छ एमाले । एमाले यो अठोटमा भएकै हुनाले लोकतन्त्र जीवित छ, होइन भने अहिले यो पाँचदलीय गठबन्धन भन्ने छ नि, बर्को राधेराधे लगाएका हुन् कि, रामराम लगाएका हुन कि, कृष्णकृष्ण लगाएका हुन् ? यी सबै लोकतन्त्रका भक्षकहरू हुन् । यिनीहरूलाई सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ । देश होइन ।’ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउने काम गरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सामाजिक सञ्जालमार्फत ‘वार’ गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए ।
ओलीले गीत, कला, साहित्य सबैको माध्यमबाट आफ्ना पार्टीमाथि गरिएका गलत प्रचारको खण्डन गर्न नेता–कार्यकर्तालाई आग्रह गरे ।