रबि हमाल, मुगु बिहिबार, साउन ०४, २०८०
मुगुको छायाँनाथ नगरपालिकास्थित गमगाढ साना जलविद्युत आयोजनाकाे नहरमा ढुङ्गा ,बालुवा,लेदाे पस्दा बन्द रहेकाे छ। नहर अबरोधका करण विद्युत सुचारू नहुँदा गमगढि बजार लगाएत बस्तिका ३ हजार परिवार एक सातादेखि विद्युत सेवा बाट बञ्चित बनेका छन् ।
भारी वर्षासँगै गमखोलाबाट बालुवा, लेदो, बगेर गमगाढ जलविद्युत आयोजनाको नहरको पानी बग्न समस्या उत्पन्न भई विद्युत सेवा अवरुद्ध हुँदा करिब ३ हजार परिवार एक सातादेखि बिद्धुत बिहिन बनेको हो ।
गमगाढ खोलाबाट बगेर आएको लेदो र बालुवा विद्युतको नहरमा पसेर विद्युत सेवा अवरुद्ध भएको गमगाढ जलविद्युत आयोजना वितरण केन्द्र प्रमुख साजन ऐडीले बताए ।
दिउँसो नहर सफा गरे पनि राति लेदो र बालुवा भरिएर फेरि समस्या उत्पन्न हुने गरेको ऐडीको भनाइ छ । ‘नहरको लेदो र बालुवा सफा गर्दै हैरान भइसकियो,’ ऐडीले भने, ‘एक साता भइसक्यो विद्युत सुचारु गर्न सकिएको छैन ।
एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजार, कार्कीबाडा, भामबाडा, ढुम, श्रीनगर, पिना, ताल्च, बालै, रुघा, थार्प, लगायत दुई दर्जन बस्ती प्रभावित बनेका छन् ।
विद्युत नहुँदा सरकारी तथा गैरसैरकारी कार्यालय साथै अन्य वित्तीय संस्थाको नियमित कामकाज गर्न पनि कठिनाइ भएको छ । विद्युत अभाव हुँदा स्थानीयहरू पैसा तिरेर जेनेरेटरबाट मोबाइल चार्ज गर्न बाध्य भएका छन् ।
यसरी मोबाइल चार्ज गरे वापत घण्टाको ५० रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको गमगढीका स्थानीय जय बहादर बुढाले बताएका छन् ।
२०६८ साल देखि संचालनमा आएको ४ सय किलो वाटको गमगाढ जलविद्युत हरेक वर्षायाममा अवरुद्ध हुने गरेको छ ।
राष्ट्रिय प्रसारण लाइन सुस्त
यससँगै मुगुमा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तार कार्य सुस्त देखिँदा समस्या भोग्नु परेको जिल्लावासीहरूको गुनासो छ ।
छिमेकी जिल्ला जुम्ला, कालीकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भए पनि मुगुमा अझै पुग्न सकेको छैन ।
मुगुमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तारमा तीव्रता दिनुपर्ने भन्दै नेपाल सरकारलाई दबाब दिनुपर्ने स्थानीय अगुवाहरूको भनाइ रहेकाे छ ।