०६ पुष २०८१, शनिबार

बाँकेमा रहेको प्रहरी तालिम केन्द्र सुर्खेतका विभिन्न स्थानमा सार्ने तयारी

खबरसबैको समाचारदाता, काठमाडाैं आइतबार, साउन २८, २०८०

कर्णाली प्रदेश प्रहरी कार्यालय मातहत रहेका कार्यालयलाई सुर्खेतका विभिन्न स्थानमा सार्ने तयारी अन्तिम चरणमा पुगेको छ । तालिम केन्द्र, विशेष सुरक्षा गण, केनाईन शाखा लगायत प्रहरी स्कुललाई समेत कर्णाली प्रदेश प्रहरी कार्यालय स्वामित्वमा रहने जग्गामा स्थानान्तरण गरिने भएको हो ।

हाल लुम्बिनी प्रदेशबाट सञ्चालनमा रहेको कर्णाली मातहतको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतको पञ्चपुरी नगरपालिकामा स्थानान्तरण गरिने भएको छ । पञ्चपुरी नगरपालिका–८, दुलालथाईमा प्रहरी तालिम केन्द्रका लागि २३ विगाह जग्गा उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय, काठमाडौंले गृह मन्त्रालयमा फाइल पेश गरिसकेको छ ।

मन्त्रीपरिषद्को स्विकृति भएपछि प्रहरी तालिम केन्द्र लुम्बिनीबाट सारेर पञ्चपुरी नगरपालिकाबाटै सञ्चालन हुने कर्णाली प्रदेश प्रहरीका प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

यस क्षेत्रमा तालिम केन्द्र स्थानान्तरणका लागि वडा तहबाटै प्रक्रिया सुरु गरि गृह मन्त्रालयमा जग्गा प्राप्तीको लागि फाइल पुगेको उनले बताए । हाल वन क्षेत्रको स्वामित्वमा रहको उक्त जग्गाका लागि वडा तह, वन उपभोक्ता समिति र नगरपालिकाबाट समेत सिफारिसका कागजपत्रहरु पेश भईसकेको उनले जानकारी दिए ।

यसका साथै जिल्ला सुरक्षा समिति, सुर्खेतले समेत उक्त क्षेत्रमा कर्णाली प्रदेश प्रहरी कार्यालयलाई जग्गा उपलब्ध गराउन सिफारिस गरेको छ ।हाल लुम्बिनी प्रदेशमै रहेको प्रहरीको विशेष सुरक्षा गण समेत गुर्भाकोट नगरपालिकामा स्थानान्तरण हुने भएको छ ।

गणका लागि जग्गा प्राप्तीको प्रक्रिया भने टुंगिसकेको हो । गत असार २६ गते संघीय सरकारको मन्त्रीपरिषद्को निर्णयले विशेष सुरक्षा गणको स्वामित्वमा चार दशमलव पाँच विगाह जग्गा दिने निर्णय गरेको थियो ।

गुर्भाकोट नगरपालिकाको १३ र १४ नं वडा गुमी गाउँ क्षेत्र जग्गा प्राप्ती भएसँगै उक्त स्थानमा पूर्वाधार निर्माणका लागि अहिले कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेश सरकारसँग सहयोग मागेको छ ।

भवन लगायतका पूर्वाधार निर्माण र मर्मत कार्यका लागि आवश्यक बजेट लागत अनुमान सहित कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पेश गरिएको प्रहरी नायव महानिरीक्षक ढकालले बताए । कर्णालीमा हाल ६ हजार दुई सय ७९ जना प्रहरीको दरवन्दी छ ।

यसमध्ये हालसम्म पाँच हजार ६ सय ६ जना प्रहरी जनशक्ति पदपूर्ति भएको छ । जसमध्ये पाँच हजार एक सय ९५ जना पुरुष र चार सय ११ जना महिला कार्यरत रहेको प्रहरी नायव महानिरीक्षक ढकालले जानकारी दिए ।

कर्णालीका जिल्लाहरुमा रहेका प्रहरी इकाई तर्फ भने गत आर्थिक वर्ष २०७९ र ०८० मा प्रहरीले सात वटा प्रहरी इकाईका लागि जग्गा स्वामित्व पाएको छ । जाजरकोट र कालिकोट जिल्लामा प्रहरी इकाईका लागि १७ रोपनी बढी जग्गा प्राप्ति भएको उनले जानकारी दिए ।

प्रदेश सभामा दर्ता भयो प्रहरी सेवा विधेयक
कर्णाली प्रदेश सभामा वि.सं.२०७७ साल असोज २७ गते नै ‘कर्णाली प्रदेश प्रहरी सेवा’ सम्बन्धिको विधेयक दर्ता भएको थियो । २०७८ माघ २३ गते समितिमा छलफलका लागि गएको यो विधेयक निष्कृय नै भयो । कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकियपछि यो विधेयक स्वतः निष्कृय भएको हो ।

अहिले भने कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालमा यो विधेयक पुनः दर्ता भएको कर्णाली प्रदेश सभाका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङले जानकारी दिए । यसअघि २०७८ वैशाख १३ गते प्रदेश सभामा यो विधेयक टेबुल भएको र १४ गते विधेयकमा सैद्धान्तीक छलफल समेत सकिएको थियो ।

प्रहरी स्कुललाई दुई विगाह जग्गा
यसअघि वीरेन्द्रनगर स्थित प्रहरी स्कुल, पद्मलिला विद्यालयसँग मर्जरमा गएको थियो । मर्जरकै आधारमा प्रहरी स्कुलले अघिल्लो विद्यालय पद्मलिलाको भौतिक संरचना समेत प्रयोग गर्न पाउँने सम्झौता गरेको थियो । हाल वीरेन्द्रनगर नगरपालिकाको स्वामित्वमा रहेको उक्त पूर्वाधारमा प्रहरी स्कुल सञ्चालन भईरहेको छ ।

अव भने प्रहरी स्कुललाई कर्णाली प्रदेश प्रहरी गणको स्वामित्वमा रहेको जग्गामा स्थानान्तरण गरिने प्रहरी नायव महानिरीक्षक ढकाल बताउँछन् । वीरेन्द्रनगर नगरपालिका–५, चिसापानी क्षेत्रमा प्रदेश प्रहरी गणको स्वामित्वमा तीन बिगाह आठ कट्ठा जग्गा छ । यसमध्ये दुई विगाह जग्गालाई प्रहरी स्कुललाई उपभोग गराउने उनले जानकारी दिए ।

त्यसैगरी बाँकी रहेको एक बिघाह जग्गामा प्रदेश प्रहरी कार्यालय र आठ कठ्ठा जग्गामा भने प्रहरीको केनाईन शाखा सञ्चालन हुनेछन् । कर्णाली प्रदेश प्रहरी गणको स्वामित्वमा रहेको उक्त जग्गामा प्रहरी स्कुल, प्रदेश प्रहरी कार्यालय र प्रहरीको केनाईन शाखा स्थापना गराउन सबै प्रक्रिया पुरा गरी प्रहरी प्रधान कार्यालय मार्फत गृह मन्त्रालयमा अनुमतिको लागि फाइल पुगेको प्रहरी नायव महानिरीक्षक ढकालले जानकारी दिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्