खबरसबैकाे समाचारदाता, काठमाडाैं मंगलबार, पुष २४, २०८०
जहाज पर्खिँदा पर्खिँदै हुम्ला ताँजाकोट गाउँपालिकाकी २२ वर्षकी अन्सु बुढाको ज्यान गएको छ ।
बाजुरामा एक जना १२ दिनकी सुत्केरीको ज्यान गएको हो । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षकी अन्सु बुढाको ज्यान गएको हो ।
यही पुस १२ गते ताजाकोटको स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि परिवारले थप उपचारका लागि बाजुराको कोल्टी पुगाइएको थियो। बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा सोमबार राति १० बजे बुढाको मृत्यु भएको हो।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा ल्याउँदा अवस्था जटिल भएकोले अन्यत्र लैजान भनेको र परिवारले हेलिकप्टरको माग गरेकोमा पर्खँदा पर्खँदै बुढाको ज्यान गएको छ। सुत्केरी भएको १२ औँ दिनसम्म स्वास्थ्य अवस्था सामान्य रहेकोमा एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको मृतकका परिवारले बताएका छन् ।