खबरसबैकाे समाचारदाता, काठमाडाैं सोमबार, पुष १५, २०८१
आज पुस १५ गते नेपालीहरुले आ-आफ्नै परम्परा, संस्कृति र रितीअनुसार मनाउँदै छन् । तिथिको रुपमा नभई गतेको आधारमा मनाइने गुरुङ जातिको नयाँ वर्ष तमु ल्होछार पर्व आजकै दिन परेको छ । यस अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
सुदूरपश्चिम प्रदेशका बासिन्दाले आजको दिनलाई ‘पुसे पन्ध्र’को रुपमा मनाइरहेका छन् । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति डा। टीएन जोशीका अनुसार आजको दिन सुदूरपश्चिमेलीको मौलिक पर्व हो । यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्दै रातभर कथा सुनाउँदै जाग्राम बस्ने चलन छ । कतै कतै विभिन्न कन्दमुल, रोटी लगायत १५ प्रकारका परिकार पकाएर खाने चलन पनि छ ।
कर्णाली प्रदेशको जुम्लामा पुस १५ मनाउन विवाहित चेलीहरू माइत आउने चलन छ । यस दिन दिनभर विभिन्न परिकार पकाएर सामूहिक भोज खाने र रातभर नाचगान गर्दै रमाइलो गर्ने चलन छ । भोलिपल्ट पुस १६ गते बिहानै नजिकैको धारा वा नदीमा गएर नुहाउने चलन छ ।