खबरसबैको समाचारदाता, काठमाडाैं सोमबार, फाल्गुण २६, २०८१

रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै उनले क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि आफ्नो एजेन्डा सार्वजनिक गरेका हुन् ।
आरआर क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क बहादुर बोहराको लोकप्रियता बढ्दै जाँदा चुनावी माहोल तातिएको छ । राजनीतिलाई शिक्षाबाट अलग राख्ने उनको प्रतिबद्धताले विद्यार्थीहरूबाट सकारात्मक समर्थन पाइरहेको छ, जसले अनेरास्ववियु र नेविसंघलाई दबाबमा पारेको देखिन्छ । बोहराको स्वतन्त्र उम्मेदवारीले परम्परागत विद्यार्थी संगठनहरूलाई चुनौती दिँदै प्रतिस्पर्धालाई रोचक बनाएको छ ।
बोहराले आरआर क्याम्पसलाई देशकै सरकारी नमुना क्याम्पसका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दलीयकरणको अन्त्य गर्दै योग्यतालाई पदाधिकारी नियुक्तिको आधार बनाउने, छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी बनाई विपन्न विद्यार्थी अक्षय कोष खडा गर्ने, मानसिक स्वास्थ्यका लागि परामर्श केन्द्र स्थापना गर्ने, डिजिटल पुस्तकालय तथा निःशुल्क वा सुलभ इन्टरनेट सेवाको व्यवस्था गर्ने जस्ता एजेन्डा अघि सारेका छन् ।
उनको प्रतिबद्धतामा क्याम्पसभित्र अनुशासन कायम गर्दै बिना परिचयपत्र गैर–विद्यार्थीको प्रवेश रोक्ने, स्ववियु गुनासो पेटिका राख्ने जस्ता योजनाहरू समेटिएका छन् । बोहराले पूर्वाधार सम्पन्न खेलकुद मैदान निर्माण, अपांगमैत्री भौतिक संरचना विकास, अनुसन्धानमूलक गतिविधिहरूका लागि कार्यशाला सञ्चालन, डिजिटल बोर्ड र स्मार्ट कक्षाकोठाको विकास, म्युजिक कार्यक्रमलाई व्यवस्थित बनाउने तथा स्नातकोत्तर तहमा म्युजिक कार्यक्रम सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सूचना प्रविधिसँग सम्बन्धित विभिन्न आईटी कम्पनीहरूसँग सहकार्य गर्दै आईटि सम्बन्धी तालिम, कार्यशाला, नेटवर्क व्यवस्थापन, र सुरक्षाका लागि आवश्यक पूर्वाधार विस्तार गर्ने योजनासमेत उनले अघि सारेका छन् ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ । उम्मेदवार बोहराले विद्यार्थीहरूको भलाईका लागि पारदर्शी, अनुशासित र जिम्मेवार स्ववियु आवश्यक रहेको भन्दै आफ्नो स्वतन्त्र उम्मेदवारीलाई समर्थन गर्न सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।
घोषणा पत्र