चन्द्र प्रसाद भट्टराई, कालिकोट बुधबार, फाल्गुण २८, २०८१

२८ फाल्गुण कालिकोट – जिल्लाको नरहरिनाथ गाउँपालिका अन्तर्गतको सैनेखोला-रुप्सा सडक खण्डको औपचारिक शिलान्यास भएको छ । सो सडकको निर्माणले स्थानीय बासिन्दाको वर्षौंदेखिको यातायातको अभाव समाप्त गर्नेछ भने उक्त क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
शिलान्यासमा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, वडा नं. ३ का वडाध्यक्ष कटक बहादुर बुढा, साबिक कुमालगाउँ गाविसका अध्यक्ष पदम बहादुर बुढा, उपाध्यक्ष हर्क बहादुर बुढा, नेपाली कांग्रेसका नरहरिनाथका सभापति राम बहादुर बटाला, स्थानीय बुद्धिजीवी, प्रहरी प्रशासन तथा थुप्रो स्थानीय बासिन्दाको उपस्थित रहेको थियो । उपस्थित व्यक्तित्त्वहरूले सडक विकासको ऐतिहासिक महत्त्व, स्थानीय सरकारको निरन्तर पहल र आगामी दिनमा हुने सम्भावित परिवर्तनका बारेमा धारणा राखेका थिए ।
नरहरिनाथ गाउँपालिकाले सार्वजनिक रूपमा विधुतिय ठेक्का आह्वान गरी नन्दामाता चिरञ्जीवी जेभी कन्सट्रक्सन प्रा.लि. ले निर्माको जिम्मा पाएको प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलले बताउनुभयो । २ करोड २८ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सो सडक बहुवर्षिय ठेक्का भएकाले दुई वर्षभित्र सम्पन्न गरिने लक्ष्य राखिएको कन्सट्रक्सनले बताएको छ । लामो समयदेखि अवरोध बनेको ठूलो चट्टानी भाग हटाउन संघीय, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयपछि आवश्यक स्वीकृति प्राप्त गर्ने करिब निश्चित देखिएको छ ।
सडक निर्माणको क्रममा ठूला चट्टानी अवरोधका कारण वर्षौंसम्म काम अघि बढ्न सकेको थिएन । यसै कारण, वर्तमान गाउँपालिका अध्यक्ष नगेन्द्र बिस्टको नेतृत्वमा संघीय सरकार र प्रदेश सरकारसँग पटक-पटक माग गरी विस्फोटक पदार्थको स्वीकृति लिन छ ठुलो संघर्ष गर्नुपरेको थियो । स्वीकृतिपश्चात सडक निर्माणको सबैभन्दा ठूलो अवरोध हट्ने निश्चित भएको छ ।
गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहका अनुसार, “नरहरिनाथको विकासको मेरुदण्ड बन्ने यो सडक निर्माण कार्यलाई हामी कुनै पनि हालतमा रोक्न दिने छैनौँ । संघीय र प्रदेश सरकारको सहयोगमा चट्टानी अवरोध हटाउन आवश्यक सबै उपाय अपनाइएका छन् । अब छिट्टै रुप्साबासीका लागि यातायातको सहज सुविधा उपलब्ध हुनेछ।” यस्तै वडा नं. ३ का अध्यक्ष कटक बहादुर बुढाले “सडक नहुँदा यहाँका स्थानीयले ठूलो सास्ती खेप्नुपरेको थियो। अहिलेको निर्माण कार्यले गाउँमा व्यापारिक गतिविधि मात्र नभई स्वास्थ्य, शिक्षा र कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पार्नेछ।”
रुप्साका स्थानीयहरू सडक नहुँदा विभिन्न कठिनाइ झेल्दै आएका छन । विशेष गरी बिरामीलाई अस्पताल पुर्याउन, कृषि उत्पादन बजारसम्म पुर्याउन र अन्य अत्यावश्यक सेवाहरूमा सहज पहुँच स्थापित गर्न यो सडक अत्यावश्यक छ । गाउँपालिकाका अध्यक्ष बिष्टले यो सडक केवल यातायातको सहजताका लागि मात्र होइन, यहाँको आर्थिक उन्नतिका लागि पनि टेवा पुर्याउनुका साथै व्यापारिक गतिविधि बढ्नेछन्, स्थानीय उत्पादन बाहिर निर्यात गर्न सजिलो हुनेछ र यहाँका युवाहरूलाई रोजगारी सिर्जना हुने अपेक्षा राख्नुभएको छ । सैनेखोला-रुप्सा सडक निर्माण भएपछि गोठी, अदेला र रुप्साका सबै नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । अहिले उनीहरू पैदल यात्रा गर्न बाध्य छन् । सडक निर्माणपछि गाडी आवत-जावत हुन सक्ने भएपछि स्थानीयहरूको जीवनमा सहजता आउनेछ । स्थानीय बासिन्दा कमल बिक भन्छन्, “हाम्रो गाउँमा गाडी आउनु हाम्रो पुस्ताले सोच्न पनि सकेको थिएन । अहिले स्थानीय सरकारको पहलले यो सपना साकार हुँदैछ । अब उपचारका लागि बिरामीलाई सजिलै अस्पताल पुर्याउन सकिन्छ, खाद्यान्न ढुवानी गर्न सहज हुनेछ र बालबालिकाले समेत सुरक्षित यात्रा गर्न पाउनेछन्।”
सडक निर्माणले नरहरिनाथ गाउँपालिकाको समग्र विकासमा ऐतिहासिक योगदान पुर्याउने विश्वास गरिएको छ । यो सडकले रुप्सा लगायतका दुर्गम क्षेत्रलाई प्रमुख सडक सञ्जालसँग जोड्नेछ, जसले व्यापार, कृषि, पर्यटन तथा सेवा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ । स्थानीय सरकारको दृढ प्रतिबद्धता, जिल्ला प्रशासन कार्यालय, संघीय तथा प्रदेश सरकारको सहयोग र स्थानीय जनताको सक्रिय सहभागिता सँगै सैनेखोला-रुप्सा सडक निर्माणले विकासको नयाँ ढोका खोल्ने निश्चित छ । अब छिट्टै रुप्सा बासिन्दाले गाडी चढ्ने सपना पूरा गर्ने भएका छन ।