०७ पुष २०८१, आइतबार

आज बाट संसदको हिउँदे अधिवेसन सुरु ,दलका नेताहरुले सम्वोधन गर्ने

Khabarsabaiko बुधबार, पुष ११, २०७५

पदम हमाल काठमाण्डौ पुस ११गते

संघीय संसद्को अधिवेशन आजबाट सुरु हुँदैछ । दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन दिउँसो ४ बजेबाट सुरु हुन लागेको छ । विधेयक अधिवेशनका रूपमा परिचित यो अधिवेशन कार्यसूचीका हिसाबले महत्वपूर्ण दायित्वका साथ सुरु हुँदैछ । संसद् अधिवेशन आह्वानसँगै संघीय संसद्का दुबै सदनले पहिलो दिनको कार्यसूची तय गरेका छन् । दुबै सभाको कार्यव्यवस्था परामर्श समितिको हिजोको बैठकले दैनिक कार्यसूची तय गरेको हो । दुबै सदनमा अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको अधिवेशन आह्वान पत्र पढेर सुनाइनेछ । यस्तै, अधिवेशन नभएको अवस्थामा सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेश पनि सदनका दुबै बैठकमा पेस हुनेछ ।  संवैधानिक प्रावधान अनुसार अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्बाट अध्यादेश प्रतिस्थापन हुनुपर्नेछ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनको पहिलो दिन शोक प्रस्तावको समेत कार्यसूची रहेको बताउनुभयो । बैठकमा पूर्वमन्त्री समेत रहनुभएका चक्र बास्तोलाको निधनको दुबै सदनले शोक प्रस्ताव पारित गर्नेछन् । यस्तै, पद्मरत्न तुलाधर र मोतीदेवी थारुको निधनको शोक प्रस्ताव पनि पारित हुनेछ ।  प्रतिनिधिसभामा भने राष्ट्रियसभाले पारित गरी पठाएका विधेयकको सन्देश पेस हुनेछ । संघीय संसद्को अधिवेशन सुरु भएको पहिलो एक एकबर्षभित्र संविधानसँग बाझिएका कानुन परिमार्जन गर्नुपर्ने जिम्मेवारी सदनसमक्ष छ । सरकारले शुक्रबारमात्र संविधानसँग बाझिएका ५५ वटा ऐन एकैपटक संशोधन गर्नेगरी केही नेपाल ऐन संशोधन पनि दर्ता गरेको छ । कानुन मन्त्रालयको अध्ययन अनुसार मौजुदा ३३९ वटा ऐनमध्ये १७४ कानुन परिमार्जनको आवश्यकता छ । यस्तै, ३८ वटा नयाँ कानुन अबको अधिवेशनले पारित गर्नुपर्नेछ । ती ३८ मध्ये केही कानुन भने हालै पारित भएकाबाटै सम्बोधन हुनसक्ने अवस्था रहेको पनि मन्त्रालयको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्