११ पुष २०८१, बिहिबार

खुला चौरमा पढ्छन् विद्यार्थी

Khabarsabaiko बुधबार, फाल्गुण २८, २०७६

बाजुरा जिल्लाको दुर्गम हिमाली गाउँपालिका ३ स्थित बौडीगाउँमा रहेको गंगा निम्न आधारभुत विद्यालयका विद्यार्थी आठ वर्षदेखि खुला चौरमा पढ्न बाध्य छन् ।
विद्यालयको जीर्ण भवन र कक्षाकोठामा डेक्स, बेन्च नभएपछि यहाँका बालबालिका आठ वर्षदेखि खुल्ला चौरमा पढ्न बाध्य भएका हुन ।
हिमाली गाउँपालिका ३ मा रहेको गंगा निम्न आधारभूत विद्यालयमा ६६ छात्रा, ३९ छात्र गरी एक सय पाँच बालबालिका अध्ययनरत छन् । विद्यालयमा डेक्स, बेन्च नभएपछि विद्यालयको खुला चौरमा बसेर पढ्ने गरेको कक्षा ६ मा अध्ययनरत बुद्धिमान बुढाले दुखेसो गरे ।
‘कक्षाकोठाभित्र पढ्न डर लाग्छ, भवनको जस्तापाता उडाएर आकाश देखिन्छ,’ कक्षा ८ मा अध्ययनरत सम्झना बुढाले पीडा सुनाइन् ।
विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि फेरि बनाएको छैन । भवनभित्र बाट माथि हेर्दा आकाश देखिन्छ । त्यसैले पानी परे कक्षा कोठाभित्रै ताल जम्छ । ‘बाहिर खालीचौर छ । त्यही चौरको भुइँमा बसेर पढ्ने गरेका छौँ,’ सम्झनाले भनिन्, ‘डेक्स, बेन्च भइदिएको भए पानी नपरेका वेला त कम्तीमा कक्षा कोठाभित्रै बसेर पढ्न पाइन्थ्यो ।

विद्यालयको भवन जीर्ण हुनुले एकातिर समस्या भइरहेको र कक्षाकोठमा डेक्स, बेन्च नहुँदा पठनपाठन प्रभावित हुने गरेको निमित्त प्रधानाध्यापक रामशरण यादवले बताउनभयो ।  भौतिक पूर्वाधारमा जीर्ण विद्यालयमा पनि हुम्ला जिल्लाको दुर्गम मासपुर र बाजुराको हिमाली गाउँपालिका ३ स्थित बौडी, युनालगायत स्थानबाट विद्यार्थी अध्ययन गर्न आउने गरेको निप्रअ यादवले जानकारी दिए । स्थानीयबीचको अस्वस्थ राजनीतिले विद्यालय जीर्ण बन्दै गएको उनले बताउनुभयो ।

भौगोलिक रूपले दुर्गम स्थानमा रहेको यो विद्यालयको पूर्वाधार विकासमा विभेद गरिएको गुनासो जनप्रतिनिधिकै छ । हिमाली गाउँपालिका ३ का अध्यक्ष धनबहादुर रोकायाले बाजुराको दुर्गम गाउँपालिकामा पर्ने भएकाले बाहिरबाट आवश्यक सहयोग नमिलेको बताउनुभयो ।
‘प्रदेश सरकारले त विभेद र्गयो र्गयो, गाउँपालिकाले पनि बजेटमा विभेद र्गयो,’ वडाध्यक्ष रोकायाले भने, विद्यालयको दुर्दशा टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिएको छैन ।
रोकायाका अनुसार विद्यालयमा पहिला झ्याल–ढोका थिए । ‘तर, अहिले अवस्था त्यस्तो रहेन । सबै जीर्ण छन् । विद्यार्थी बाहिर खुला चौरमा बसेर पढ्न बाध्य छन्,’ उनले भने । हाल विद्यालय भवनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १० लाख रुपैयाँ र गाउँपालिकाबाट पाँच लाख रुपैयाँ बजेट आएको छ । त्यो रकमबाट भवनको छाना छाउने तयारी भइरहेको उनले बताए । अहिलेसम्म भवन निर्माण काम सम्पन्न हुनुपर्ने हो । तर, बल्ल उपभोक्त समिति गठन भएको छ । त्यसैले काम सुरु हुन अझै समय लाग्ने स्थानीयको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्