Khabarsabaiko शनिबार, बैशाख २०, २०७७
लकडाउनका कारण नेपालगञ्ज,सुर्खेत,काठमाडौ,बुटवल लगायतका शहरमा अलपत्र परेका जेष्ठ नागरिक, र विद्यार्थीलाई कर्णाली प्रदेश सरकारले भाडामा ५० प्रतिशत छुटको अनुदान दिने भएको छ ।
सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाका नागरिकलाई प्रदेश सकारले हवाई टिकटमा ५० प्रतिशत अनुदान दिने भएको हो ।
लकडाउनमा अलपत्र परेका जेष्ठ नागरिक,६० वर्ष माथिका र विद्यार्थीहरुलाई हवाई टिकटमा ५० प्रतिशत अनुदान दिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । शनिबार बिहान बसेको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको सामाजिक विकास मन्त्री रावलले बताए ।
६० वर्षमाथी जेष्ठ नागरिकहरुको नेपाली नागरिकता, विद्यार्थीहरुको परिचय पत्र र डकुमेन्ट पेश गर्नुपर्ने सामाजिक विकास मन्त्री रावलले भने ।
नेपालगञ्जबाट हुम्ला सिमकोटसम्मको लागि प्रति यात्रु १० हजार पाँच सय रुपैया जहाज टिकट दर रहेको छ । नेपालगञ्ज र सुर्खेतमा जेष्ठ नागरिक, र विद्यार्थी कति छन् त्यस विषयमा एकिन भएको छैन् ।
हाल लकडाउनमा लक भएका ८ सय ९५ जना हुम्लाका नागरिकहरुको हवाई जहाजमार्फत उद्धार गरिने भएको छ ।
शनिबार नेपालगञ्ज,सुर्खेत,बाट निजि कम्पनीका जहाज तारा,सीता, समिट एयरका जहाजहरुले नाम्खा गाउँपालिका– ५६ जना महिला,बालबालका, विद्यार्थी र खार्पुनाथ– ४९ जना र सिमकोट गाउँपालिकाका – २२ जना ,सर्केगार्ड–४ जना गरी जम्मा १ सय ३१ जना हुम्ली नागरिकलाई उद्धार गरि जिल्ला पुगाइएको छ । बाँकी भोलिबाट नेपालगञ्ज,सुर्खेतबाट अलपत्र यात्रुहरुको उद्धार गरिने छ ।