Khabarsabaiko बिहिबार, भाद्र ०४, २०७७
जब म कविता लेख्न भनेर कलम र कागज समाउछु,
रातमा तब म मेरा दुई चार शब्दहरुमा थकित भएर
शब्दहरुकै डोजले म लट्टिन्छु,
र कापिहरुलाई सिरान र कागजहरू ओछ्यान बनाएर
आधा गिलास रक्सी पिएर
र आधा गिलास हेर्दा हेर्दै टोलाएर
कान्छा राइको भट्टीमा मेरा बा निदाए झै
हो कोर्दा कोर्दै म निदाउँछु ।
हो म यहाँ यस्तै यस्तै छु
र
मेरा बा पनि ठ्याक्कै म जस्तै छन्
हरेक दिन साझपरेपछि,
भट्टी छिरेर भट्टीमै अलिकति सुत्छन,
अनि आधा कविताहरू लेख्छन
र मध्यरातमा चोकदेखि घरसम्मका अध्यारा बाटाहरुमा
जुनकिरी झै गीत गाएर
अनि इनडोरका कुकुरहरू झै भुक्दै भुक्दै
मानौ कि मेरा बा फेरि पनि अरु अलिकति
मिठा कविताहरू लेख्छन,
मेरा बा!र सिमसिमे बिहानिमा उज्याला घामका किरणहरू जस्तै बनेर
या रातभरि मैदानमा काम गरेर फर्किरहेको मजदुर झै
या मानौ कि देशका सब दुश्मनहरुलाई मारेर
रमाएर गोर्खा
फर्किरहेको कुनै बहादुर योद्धा जस्तै गरेर
घर फर्किएर आउछन् मेरा बा
र बाँचेका अरु आधा गिलास रक्सी पिएर दिनभरि निदाउछन,
कुनै अनिदो जुन जस्तै गरेर
मेरा बा ! यहाँ
यस्तै यस्तैकै छन्
हो जो यहाँ ठ्याक्कै म जस्तै छन,
जो फेरि पनि बेलुकापख ब्युझन्छन
र कञ्चनस्नान अनि अलिकति
अन्नपान गरेर फ्रेस झै लाग्ने गरेर बिस्तारै भन्छन कि
“I’m sorry, म अबदेखि भोलि रक्सी खादै खान्न कान्छा छुदै छुन्न”
भन्दै कसम खान्छन
र नभन्दै फेरि पनि सधा झै उसैगरी
चोर स्याल झै साझपख सुटुक्क निस्कन्छन।
र बीच बाटोमा मलाई देखेर डराउदै फेरि पनि
भन्छन्,
“अलिकति हिजोको हिसाब बाँकी छ भट्टीहरुमा
अनि अलिकति ईतिहास लेख्नु छ मलाई आज,
त मेरो बाटो नछेक कान्छा
अनि अब आइन्दा त मेरा कविताहरू पनि नलेख
म एकैछिनमा आउँछु,”
नभन्दै जान्छन ।
खाली गिलास र सिसी समाएर
रक्सीको चमत्कार देखाइरहेको कुनै जादुगर जस्तै
या आगोको रापले रंगिएर तंग्रिरहेको रबर झै
हो मेरा बा एस्तै यस्तैकै छन् ।
जसरी हरेक दिन म कलम मात्र के समाउँछु
त्या सधैं स्वय म एउटा कविता बन्छ
र म भन्छु कि,
मलाई माफ गरिदेऊ मेरा बा
अबदेखि म कैले पनि तिम्रा कविताहरू लेख्ने छैन ।
भट्टीमै अर्धनिद्रा निदाएर अनि
भट्टीमै आधा सपनाहरू सजाएर
हिमालका सेताम्य हिउ झै रङ्गिरहेका
अनि बर्षौं-वर्षसम्म पनि
लगातार दिनभरि सहरको सडक किनारमा उभिएर
ल्याम्पोष्ट झै
धप्प्धप्प बलिरहेका
या,
कुनै बिरक्त बाटाहरुमा लामालामा दारीजुघा
कपाल पालेर
अनि च्यातिएका कपडाहरू टालेर
ऊ पर जोगि जसरी आइरहेको त्यो बुडो मान्छे
हो त्यो मेरै बा हो,
जो ठ्याक्कै म जस्तै छ,
जो बाडिले अन्नबाली बागाएर खाएका सर्वाङ्गा
नाङ्गानाङ्गा खेतहरुमा
भमरा जस्तै गरेर दिनभरि डुल्छ
अनि हुरिबतासले उढाएका घर उदाङ्गा धुरीहरुमा
कोइली झै बिरह गाउदै घुम्छ
र गुनासाहरू भुल्छ
जो जिन्दगी देखि नै दिक्क लागेर
रक्सी प्युछ
अनि रक्सी देखि नै वाक्क लागेर
जिन्दगी ज्युछ
अनि मलाई मातृभूमिका सत्रुहरुलाई बिभस्स बनाउन
सैनिक कमाण्डरले झै आदेश दिन्छ
अनि उनीहरुकै आक्रमणले हण्डर खान्छ
मेरा वा तिम्रा ती सुकेका रक्तनसाहरुमा
बौलाहा सप्तकोसिको बहाब झै दोउडिरहेको
जस्तो देखिने कुनै सराप हो या तनाब??
धार हराएर दिनहुँ कामीको कुदिरहेका कुनै तरबार जस्तो
या समचार हराएर दोउडिरहेका पत्रकार झै
या यस्तै तस्तै कि आमाको काख नपाएर
रोइरहेको कुनै दुधे बालक झै
रोइरहन्छन
मेरा बा निरन्तर
म मान्छु कि जस्का आँसुहरू पनि
रक्सीहरू हुन
पसिनाहरू पनि रक्सी नै हुन
र रक्सीहरू उङ्का रचना हुन
ती रचनाहरू जस्लाई मात्र हरेक दिन सङ्कलन
गरे,त्यहाँ एउटा ठुलो मधिरा अल्कोहल फ्याक्ट्री
वा कला कम्पनी बन्नेछ
मेरा बा जो यहाँ ठ्याक्कै यस्तै छन्
हो मेरा ठ्याक्कै म जस्तै छन्
किनकि मेरा बा! मभन्दा पनि खुङ्गखार
कलाकार हुन् ।
______________
सर्जक – सुजन बुढाथोकी
बुवाको मुख हेर्ने दिन –कपोकल्पित जँड्याहा बुवाहरू प्रति समर्पित कबिता